चैत्र शुक्ल प्रतिपदा | नव संवत्सर एवं हेडगेवार जयन्ती

वर्ष प्रतिपदा र नव संवत्सर

हामी चैत्र महिना शुक्लपक्षको प्रतिपदा तिथिलाई संवत्सरको पहिलो दिनका रूपमा मनाउने गर्दर्छौँ । हाम्रा पात्रोमा पनि यस दिनलाई वत्सर–आरम्भ अथवा संवत्सर आरम्भ भनी उल्लखे गरिएको पाइन्छ ।

‘संवत्’को सामान्य अर्थ हो वर्ष । यसलाई संवत्सर पनि भन्ने गरिन्छ । पृथ्वीले सूर्यलाई एक पटक परिक्रमा गर्न लाग्ने अवधि अथवा छ वटा ऋतुको एउटा पूर्ण चक्र नै एक संवत्सर हो ।

प्रभवदेखि क्षयसम्म रहेका यस्ता साठी वटा संवत्को चक्रलाई ‘षष्टि संवत्सर’ भनी हामी वैदिक सनातन धर्मावलम्बीले प्रयोगमा ल्याउँदै आएका छौँ । प्रचलनमा आएका सबै संवत्हरूमध्ये सबैभन्दा जेठो र शाश्वत षष्टि संवत्सर नै हो । शाश्वत कुन अर्थमा भने यो कुनै शासक, पैगम्बर अथवा साहुमहाजनका नामबाट चलनमा आएको होइन । सनातन धर्म झैँ यो पनि सनातन छ । यसको गणना तिथि, ऋतुचक्र, सूर्य, चन्द्र र नक्षत्रहरूमा आधारित छ ।

संवत्सर परिवर्तन चैत्र शुक्ल प्रतिपदाबाट हुन्छ । तिथि अनुसार चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिबाट हाम्रो नयाँ वर्ष शुरु हुन्छ । यो गणना चन्द्रमा आधारित र प्रकृतिसम्मत, शाश्वत हो । यसमा कालगणनाको विज्ञान रहेको छ । यस समयमा वसन्त ऋतुको आगमनसँगै वृक्ष–वनस्पतिहरू नयाँ पालुवाले सुशोभित हुन्छन् । वातावरण त्यसै–त्यसै उत्साहजनक र आनन्ददायक बन्दछ । लाग्छ, प्रकृतिले पनि नयाँ वर्षलाई स्वागत गरिरहेकी छिन् ।

सौर पञ्चाङ्गका आधारमा राशी चक्रमा सूर्यको गति हुने क्रमलाई ‘दिनगता’ भन्ने चलन छ । त्यसैलाई छोट्करीमा ‘गते’ भनिएको हो । यसरी एक महिना एउटा राशीमा हुँदै १२ वटा राशीको एक चक्रमा मेषदेखि मिन राशीसम्म सूर्यको गति वर्षभरिमा हुने गर्दछ । मेष राशीमा सूर्य प्रवेश गरेको दिन मेष सङ्क्रान्ति, वैशाख १ गते–लाई हामीले नयाँ वर्षको रूपमा मनाउँदै आएका छौँ । यो मान्यता पनि खगोलीय परिवर्तनमा आधारित एवं वैज्ञानिक नै छ । यस दिनलाई भारतवर्षमा कतै गुडी पाडवा, युगादि आदि नामले पनि मनाउने परम्परा छ ।

  • चैत्र शुक्ल प्रतिपदालाई वर्ष प्रतिपदा भनिन्छ ।
  • यो चैत्र महिनाको शुक्ल पक्षको पहिलो तिथि हो, जसलाई वर्षको पहिलो दिन मानिन्छ ।
  • वैदिक कालगणना अनुसार, चन्द्र गणनाका आधारमा यसै दिनबाट नयाँ वर्ष (नव संवत्सर) आरम्भ हुन्छ ।
  • यस वर्ष यो तिथि चैत ०५, २०८२, बिहीवार परेको छ ।
  • पात्रोमा यस दिनलाई ‘वत्सर आरम्भ’ भनेर उल्लेख गरिएको हुन्छ, जसको अर्थ वर्ष सुरु हुने दिन हो ।
  • संवत्सरको कुल संख्या ६० वटा रहेको छ र प्रत्येक ६० वर्षमा एउटा चक्र पूरा हुन्छ ।

धार्मिक तथा ऐतिहासिक महत्त्व

  • यसै दिन सृष्टिकर्ता ब्रह्माले सृष्टिको रचना गर्नुभएको शास्त्रीय मान्यता छ ।
  • घटस्थापना गर्दै वर्षमा पहिलो नवरात्र— वासन्तिक नवरात्र यसै दिन शुरु हुन्छ । हामी देवी भगवतीको आराधना गरेर साधना, शक्ति र सामर्थ्ययुक्त भई आगामी एक वर्ष कर्मशील हुनेछौँ भनी यसै दिन सङ्कल्पित बन्छौँ ।
  • त्रेतायुगमा भगवान् श्रीरामचन्द्रको र द्वापरमा पाण्डवज्येष्ठ युधिष्ठिरको राज्याभिषेक भई धर्मराज्य स्थापना भएको दिनका रूपमा पनि यसलाई स्मरण गरिन्छ । यसले हामीलाई आफ्नो जीवनका प्रत्येक पल तथा परिवार एवं समाजलाई धर्ममय बनाउने प्रेरणा प्रदान गर्दछ ।
  • यसै दिन सन्त झुलेलालको जन्मदिन मनाइन्छ । उहाँ सिन्ध प्रान्तमा जन्मनुभएको र त्यहाँका स्थानीय हिन्दूहरूको इष्ट देव समेत हुनुहुन्छ । मुसलमान नवाबले सिन्धका सारा प्रजालाई बलात् धर्मान्तरण गर्ने योजना बनाएको थियो । त्यसलाई सन्त झुलेलालले आफ्नो सद्प्रयासद्वारा विफल पारिदिनुभएको थियो ।
  • वैदिक धर्मका प्रचारक, आधुनिक कालमा इसाई र इस्लामका भ्रामक विचारको आलोचना गरी हिन्दू जनसमुदायलाई धर्मान्तरित हुनबाट बचाउने, समाज–सुधारक दयानन्द सरस्वतीले यसैदिन आर्यसमाजको स्थापना गरी ‘कृण्वन्तो विश्वमार्यम्’ भनी विश्वलाई श्रेष्ठ बनाउने कार्य थालनी गर्नुभएको थियो ।
  • समाजलाई निर्बल बनाउने विभेदहरू पन्छाएर समग्र हिन्दू समाजलाई सुसंगठित र निर्मल पारिनुपर्छ भन्ने भावका साथ विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संगठन राष्ट्रीय स्वयंसेवक संघको स्थापना गर्नुहुने विचारक डाक्टर केशव बलिराम हेडगेवारको जन्म पनि यसै दिन भएको थियो ।

सङ्कल्प र उत्सवको भावना

  • यो पर्व नयाँ वर्षका लागि नयाँ सङ्कल्प लिने दिवस हो ।
  • यस दिन स्वयंसेवकहरूले कार्यको आवश्यकता अनुसार शक्ति बढाउने र उत्साहका साथ समय दान गर्ने सङ्कल्प लिन्छन् ।
  • उत्सवहरूले समाजमा नवीन प्रेरणा दिने र समाज-जागरणको कार्य गर्दछन् ।

यी यावत् तथ्यले विश्वमै हिन्दूहरूलाई गौरवान्वित तुल्याउँदछन् । यी विविध सामाजिक–सांस्कृतिक घटनाको स्मरण गराउने तिथिका रूपमा वर्षप्रतिपदालाई हामी श्रद्धापूर्वक मनाउँदछौँ ।

हामी बाँचेको सृष्टिको पहिलो बिहानीदेखि निरन्तर रूपमा समयको स्पष्ट गणना राख्ने सामर्थ्य हाम्रो कालगणनले बोकेको । सूर्य झैँ छ, निरन्तर र प्रकाशवान् । मनगढन्त होइन, टुप्पाबाट पलाएको होइन, वेदसम्मत छ अनि विज्ञानसम्मत पनि छ । रिसर्च गर्ने पद्धतिको प्रतिपादक प्राचीन ऋषिहरूको गहन खोज, अनुसन्धान, विचार, मन्थन, प्रयोग आदिका आधारमा निर्मित हुँदै आएको छ– हाम्रो संस्कृति र यसैको एउटा अनुपम देन हो ‘वैदिक कालगणना’ । यसैका आधारमा नयाँ संवत्सर आरम्भ चैत्र शुक्ल प्रतिपदा र नयाँ वर्ष (गते अनुसार) मेष सङ्क्रान्ति अर्थात् वैशाख १ गतेलाई भव्यताका साथ उल्लास एवं उत्सवपूर्ण तरिकाले मनाउनु हाम्रो कर्तव्य हुन्छ ।

उत्सव मनाउने विधि र तयारी

  • शाखामा उत्सव मनाउँदा निम्न कुराहरूमा ध्यान दिनु पर्दछ:
  • सबै स्वयंसेवक पूर्ण गणवेशमा उपस्थित हुनुपर्नेछ ।
  • डाक्टर हेडगेवारको चित्रलाई माला र पुष्पले सजाउने तथा ध्वज लगाउनुअघि आद्य सरसंघचालक प्रणाम अर्पण गर्ने ।
  • डा. हेडगेवारको जीवन, कार्य र वर्षप्रतिपदाको महत्त्वबारे बौद्धिक कार्यक्रम गर्ने ।
  • उत्सव सादगीपूर्ण हुनुपर्छ र यसका लागि पूर्व तयारी (स्वच्छता, गीत, अमृतवचन, वक्ताको चयन आदि) गरिएको हुनुपर्छ ।
  • कार्यक्रमपछि त्यसको उपलब्धि र समीक्षा गरिनुपर्छ ।

कार्यक्रमको रूपरेखा

  • कार्यक्रमको क्रम यस प्रकार रहनेछ:
  • सम्पत् र गणगीत
  • अधिकारी आगमन र ध्वजारोहण
  • अमृतवचन र एकलगीत
  • मुख्य अतिथि वा वक्ताद्वारा उद्बोधन
  • अध्यक्षीय आशीर्वचन
  • प्रार्थना र ध्वजावतरण