‘स्वयंसेवक’ को शाब्दिक अर्थ हुन्छ— आफ्नो इच्छाले सेवा गर्ने व्यक्ति। सामान्य अर्थमा, कुनै पनि लोभ, पद वा स्वार्थ बिना समाज र राष्ट्रको हितका लागि समर्पित व्यक्ति नै स्वयंसेवक हो।
स्वयंसेवक हुनु आफैमा सुअवसर पनि हो—
• आफूमा निहित सर्वश्रेष्ठ व्यक्तिगत गुणहरूलाई प्रकट गर्ने,
• हाम्रा व्यक्तिगत गुणहरूलाई समाज–उपयोगी बनाउने,
• हाम्रो समाजको कार्य अरु कसैले होइन, हामी आफै अग्रसर भएर गर्नुपर्छ भन्ने भावलाई चरितार्थ गर्ने,
• व्यक्तिगत सुख र स्वार्थको कामना त्यागेर समाज, राष्ट्र गर्दै विश्वकै सुखको लागि समर्पित हुने,
• संगठनको व्रत लिएर अघि बढेका छौँ, यसर्थ यस व्रतका लागि आवश्यक संयम र तपस्या गर्दै अघिबढ्ने,
• संगठनको कार्यमा आइपर्ने सबै संकटहरूलाई प्रसन्नचित्त एवं निर्भय बनेर प्रतिरोध गर्ने,
• समाजलाई सुसंगठित बनाउने उद्देश्य बोकेको हुनाले लोकसंग्रह (व्यक्ति जोड्ने), लोक–संस्कार (व्यक्तिमा समाज–उपयोगी गुण बढाउने) र लोक–नियोजन (व्यक्तिको योग्यता अनुसारको दायित्व/कार्य दिने) गुण विकास गर्ने,
• एक्लैले सबै कार्य सम्पन्न हुँदैन यसैले सबैलाई साथमा लिएर हिँड्न सक्ने सामूहिकताको भावना कार्यकर्तामा हुनुपर्छ । यस्तो भावना विकास गर्ने..
हिन्दू स्वयंसेवक संघ नेपालका स्वयंसेवकहरू संगठन र समुदायका अभिन्न स्तम्भ हुन्। उनीहरूले सांस्कृतिक संरक्षण, धार्मिक शिक्षाको प्रसार र सामाजिक सेवाका माध्यमबाट हिन्दू धर्मका मूल्य र परम्परा जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याउँछन्। संकटको बेला राहत र सहकार्यमा तिनीहरूको तत्परता र दैनिकी अनुशासनले संस्थाका लक्ष्य साकार गराउँछ र नयाँ पुस्तालाई नैतिकता, एकता तथा सेवा भावनामा प्रेरित गर्छ।

