डॉ. केशव बलिराम हेडगेवार: जीवन, दर्शन र हिन्दू धर्मप्रतिको योगदान

संघका संस्थापक डा. केशव बलिराम हेडगेवारको जन्म विक्रम संवत् १९४६ को वर्ष प्रतिपदाका दिन (१ अप्रिल १८८९ मा) नागपुरमा एक ब्राह्मण पुरोहित परिवारमा भएको थियो । उनका पिताजी पुरोहित थिए र परिवारमा आर्थिक कठिनाइ भए पनि आत्मगौरवले भरिएको जीवन थियो । यसै पुख्र्यौली गुणको प्रभाव हो— ८ वर्षको उमेरमा नै उनले रानी भिक्टोरियाको राज्यारोहण उत्सवमा विद्यालयबाट बाँडिएको मिठाई फोहोरमा फालेर विदेशी शासनको विरोध जनाए । १२ वर्षको उमेरमा पनि उनले इंग्ल्याण्डका राजा एडवर्डको राज्यारोहण समारोह बहिष्कार गरे । उनका लागि विदेशी शासकको उत्सव लज्जास्पद थियो ।
सन् १९०५ मा बंगाल विभाजनको विरोधस्वरूप देशभर ‘वन्दे मातरम्’ उद्घोष फैलिएको थियो । बालक केशवले पनि अंग्रेजी स्कुलमा निरीक्षकको स्वागत ‘वन्दे मातरम्’ उद्घोषबाट गर्न प्रेरणा दिए, जसका कारण उनलाई विद्यालयबाट निष्कासन गरियो ।
डा. हेडगेवारको जीवन प्रारम्भदेखि नै देशभक्तिपूर्ण, स्वाभिमानयुक्त र आत्मसमर्पणमय थियो । सन् १९२५ मा विजयादशमीको दिन उनले नागपुरमा राष्ट्रीय स्वयंसेवक संघको स्थापना गरे, जसको उद्देश्य हिन्दू समाजमा एकता, अनुशासन र राष्ट्रसेवाको भावना जागृत गर्नु थियो ।
प्राथमिक शिक्षापछि डा. केशव हेडगेवार नील सिटी हाईस्कूलमा भर्ना भए । सन् १९०५ को समय थियो, लर्ड कर्जनले बंगाल प्रान्तको विभाजनको घोषणा गरेपछि सम्पूर्ण भारत आक्रोशित बनेको थियो । यही समयमा ‘वन्दे मातरम्’ राष्ट्रभक्तिको प्रतीक नाराका रूपमा जनमनमा घर गरिसकेको थियो । अंग्रेज सरकारले यस नारामाथि प्रतिबन्ध लगाएको थियो । सन् १९०८ मा म्याट्रिकका विद्यार्थी केशवले विद्यालयमा निरीक्षण गर्न आउने सरकारी इन्स्पेक्टरको स्वागत ‘वन्दे मातरम्’ उद्घोषबाट गर्ने योजना बनाए । योजना अनुसार जब निरीक्षक कक्षामा प्रवेश गरे, सम्पूर्ण कक्षाले राष्ट्रनाद ग¥यो । यसले निरीक्षकलाई क्रोधित बनायो र विद्यालयका सबै सहभागी विद्यार्थीलाई निष्कासित गर्ने निर्णय गरियो । पछिपछि सम्झौता स्वरूप सबैले गल्ती स्वीकार्दै पुनः विद्यालय प्रवेश पाए । तर, केशवले आफ्नो कार्यलाई राष्ट्रसेवाको भाग मानेर गल्ती मान्न अस्वीकार गरे । त्यसैले उनीमात्र विद्यालयबाट पूर्णरूपमा निष्कासित गरिए ।
यसपछि उनले यवतमालको एक राष्ट्रिय विद्यालयमा भर्ना लिए, तर त्यो विद्यालय पनि अंग्रेज शासकद्वारा बन्द गरियो । अन्ततः उनी पुणे हुँदै कोलकाता गए र त्यहाँ राष्ट्रिय विद्यापीठबाट म्याट्रिक परीक्षा अमरावती केन्द्रमा दिए । सन् १९०९ मा उनले सफलता प्राप्त गरे । उनको प्रमाणपत्रमा भारतका प्रसिद्ध क्रान्तिकारी रासबिहारी बोसको हस्ताक्षर थियो ।
कोलकाताको नेशनल मेडिकल कलेजमा अध्ययन गर्दैगर्दा हेडगेवार अनुशीलन समितिमा सहभागी भई क्रान्तिकारी गतिविधिमा संलग्न भए । डाक्टर बनेपछि नागपुर फर्किए, तर न त डाक्टरी पेशा अपनाए, न वैवाहिक जीवन । त्यसबेला उनको जीवनको उद्देश्य देशको स्वाधीनता थियो ।
महायुद्धपछि जनतामा स्वतन्त्रताको चाहना बढेको देखेर उनी काँग्रेसमा सामेल भए । लोकमान्य तिलकको नेतृत्वमा उनले राष्ट्रसेवा आरम्भ गरे । १९२० को काँग्रेस अधिवेशनमा उनले संगठन र व्यवस्थाको दायित्व लिएका थिए । स्वराज्यका लागि भाषण गरेपछि उनलाई राजद्रोहको आरोपमा एक वर्षको जेल सजाय भयो । जेल जीवनले उनको विचारमा गहिरो मन्थन गरायो । उनले अनुभव गरे— केवल जनजागरण होइन, सुसंगठित, अनुशासित, समर्पित राष्ट्रसेवकहरूको आवश्यकता छ ।
त्यसैबेला गान्धीजीको खिलाफत आन्दोलन र मुस्लिम तुष्टीकरणको नीतिबाट हेडगेवार सन्तुष्ट भएनन् । उनले देखे— हिन्दू समाज असंगठित छ, त्यसैले असुरक्षित छ । अतः हिन्दू राष्ट्रका लागि हिन्दूहरूको सांस्कृतिक, सामाजिक र चारित्रिक संगठन अपरिहार्य छ ।
संघको स्थापना
सन् १९२५ मा डा. हेडगेवारले विजयादशमीका दिन ‘राष्ट्रीय स्वयंसेवक संघ’ स्थापना गरे । उनका अनुसार संगठन भनेको केवल भीड होइन— संस्कार, विचार र समर्पणबाट निर्मित अनुशासित शक्ति हो ।
सुरुमा नागपुर र आसपासका क्षेत्रमा शाखा सञ्चालन भए । १९३० मा जंगल सत्याग्रहमा भाग लिएर कारावास भोगे । त्यहाँ अन्य देशभक्तहरूसँग भेट भयो । १९३६ पछि संघ भारतका विभिन्न प्रान्तमा फैलन थाल्यो । १९४० सम्म असम र उडिसा बाहेक सबै प्रान्तमा शाखा सुरु भएका थिए ।
२ जून १९४० को संघ शिक्षा वर्गमा उनले भने, “आज म आफ्नो आँखाबाट हिन्दू राष्ट्रको सजीव स्वरूप देख्दैछु।” श्रीगुरुजीको काँधमा संघको दायित्व सुम्पदै २१ जून १९४० मा ५१ वर्षको उमेरमा उनको जीवनले इहलोक त्याग्यो । संगठित र सामर्थ्यशाली हिन्दू समाजको उनको सपना आज पनि लाखौं स्वयंसेवकमा जीवित छ । शाखा, सम्पर्क र संगठनको उनले आरम्भ गरेको तन्त्र झनझन् झाँगिदै गएको छ । संघ विशाल वटवृक्षमा परिणत भएको छ ।