स्वामी विवेकानन्द: जीवन, दर्शन र प्रेरणादायी उद्धरणहरू

एउटा जिज्ञासु युवा नरेन्द्रलाई त्यस समयका महान् सिद्ध सन्त रामकृष्ण परमहंसको सान्न्ध्यि प्राप्त भयो । त्यही सान्न्ध्यिले उनलाई स्वामी विवेकानन्द बनायो । हिन्दू संस्कृतिलाई जुन बेला ‘पराजित जातिको संस्कृति’ भनिन्थ्यो, त्यसबेला अमेरिकाको सिकागोमा पुगेर यसको नव–उत्थानको बिगुल फुक्ने काम स्वामी विवेकानन्दले गर्नुभयो । उहाँको आकर्षक प्रस्तुतिका कारण त्यस बेला हिन्दू संस्कृति र दर्शनप्रति संसार नै मोहित भयो । विश्वका विद्वान् र दार्शनिकहरूमा वेद र उपनिषद्लाई आत्मसात गर्ने चाहना जाग्यो । पश्चिमले फेरि अनन्त ज्ञान प्राप्त गर्नका लागि पूर्वतिर चिहाउन थाल्यो ।

दृढ–निश्चयी, निर्भिक, साहसी युवा सन्न्यासी स्वामी विवेकानन्दको जीवनकाल अल्प (३९ वर्षको) थियो तर, हिन्दू संस्कृतिलाई उत्कर्षमा पुगेको देख्ने उहाँको चाहना उत्कट थियो । हिन्दू सभ्यताले आफ्नो गुमेको महिमा पुनः प्राप्त गरोस् भन्ने उहाँको स्वप्नलाई साकार पार्ने कार्यका लागि उहाँको एकमात्र निष्ठा युवा पुस्तामा थियो ।
स्वामी विवेकानन्दको कार्य युवा एवं विद्यार्थीहरूलाई आदर्श व्यक्तिको रूपमा निर्माण गर्ने चेतनाले परिपूर्ण थियो । उहाँ भन्नुहुन्थ्यो, “व्यक्ति–निर्माण र चरित्र गठन, अनुशासन एवम् संगठन आजको महत्त्वपूर्ण आवश्यकता हो ।”

स्वामी विवेकानन्दलाई प्रारम्भबाट नै आधुनिक युवा पुस्तामाथि अटूट विश्वास थियो । उहाँलाई लाग्थ्यो कि युवाहरूबाट नै यस्ता कार्यकर्ताको टोली तयार हुनेछ, जो समस्त समस्याहरूको निवारणका लागि वीर सिंहहरू झैं कार्य गर्नेछन् । उहाँले भन्नुभएको थियो, “हामीलाई यस्ता युवाको खाँचो छ जो अन्य सबै कुरा त्यागेर देश तथा समाजको सेवाका लागि आफ्नो जीवन सर्वस्व लगाउन सकुन् । पहिले हामीले व्यक्ति निर्माण गर्नुपर्छ तब मात्र केही वास्तविक कार्यको सम्भावना हुनेछ ।”

युवा र विशेष गरी विद्यार्थीहरूले आफ्नो ‘स्वत्व’को पहिचान गरुन् । उनीहरूमा आत्म– गौरवको भाव जागृत होस् । आफ्नो संस्कृतिको ज्ञान प्राप्त गरुन् । आफ्नो महान् सभ्यतालाई चिनेर त्यो गौरवलाई पुनः प्राप्त गर्न उद्यत होउन् । उनीहरू बलशाली बनुन् । निर्भिक बनुन् । यही चाहना थियो स्वामीजीको । यसै कारण आज पनि स्वामी विवेकानन्द विश्वका अनगन्ति युवा एवं विद्यार्थीहरूका आदर्श हुनुहुन्छ ।

तल उनका केही चर्चित उद्धरणहरू नेपालीमा अनुवाद गरी प्रस्तुत गरिएको छ:

शक्ति नै जीवन हो, कमजोरी मृत्यु हो।

उठ, जाग र लक्ष्य प्राप्त नभएसम्म नरोकिनु।

सबै शक्ति तिमीभित्रै छ; तिमीले जे चाह्यौ, त्यही गर्न सक्छौ।

आफैंप्रति विश्वास नहुँदासम्म ईश्वरमा विश्वास आउँदैन।

एउटै विचार लिऊँ, र त्यो विचारलाई आफ्नो जीवन बनाऊ।

शिक्षा भनेको मानिसमा पहिले नै रहेको परिपूर्णतालाई प्रकट गर्नु हो।

सबैभन्दा ठूलो पाप हो आफूलाई कमजोर ठान्नु।

निडर बन, सधैं भन — “मलाई डर छैन।”

हृदय र मस्तिष्कबीच संघर्ष हुँदा हृदयलाई पछ्याऊ।

सत्यलाई हजारौं तरिकाले व्यक्त गर्न सकिन्छ; ती मध्ये प्रत्येक सत्य हुन सक्छ।

शिक्षासम्बन्धी स्वामी विवेकानन्दका विचार
जुन शिक्षाले जनसाधारणलाई जीवन संघर्षका लागि तैयार गर्न सक्दैन, चरित्र निर्माण गर्दैन, समाज सेवाको भावना विकसित गर्दैन तथा जसले सिंह जस्तो साहस पैदा गर्न सक्दैन, यस्तो शिक्षाको के लाभ ?

हामीलाई यस्तो शिक्षाको आवश्यकता छ जसले चरित्र निर्माण होस्, मस्तिष्कको शक्ति बढोस्, बुद्धिको विकास होस् र मनुष्य आफ्‌ना खुट्टामा उभिन सकोस् ।

वास्तविक शिक्षा त्यही हो जसले हामी आफ्‌‌नो जीवन निर्माण गर्न सक्छौँ र स्वावलम्बी बन्न सक्छौं । वास्तवमा त्यही नै शिक्षा भन्न योग्य हुन्छ ।

शिक्षा मनुष्यमा अन्तर्निहित पूर्णताको अभिव्यक्ति हो । शिक्षाद्वारा मानवमा अन्तर्निहित दिव्यता प्रकट हुनु पर्दछ ।