हिन्दू स्वयंसेवक संघ : जिज्ञासा र समाधान (FAQs)
हिन्दू स्वयंसेवक संघ, नेपाल बि.सं. २०४८ मा स्थापना भएको एक सामाजिक तथा सांस्कृतिक संस्था हो। यसको मुख्य उद्देश्य हिन्दु जीवनपद्धतिमा आधारित रही चरित्रवान्, अनुशासित र सेवाभावी व्यक्तिहरुको निर्माण गर्नु हो।
यस नाममा रहेका तीन शब्दले विशेष अर्थ राख्छन्:
- हिन्दू: यसले यस भूमिको साझा सांस्कृतिक पहिचान र जीवनदृष्टिलाई जनाउँछ।
- स्वयंसेवक: यसले समाज र राष्ट्रका लागि कुनै प्रतिफलको आशा नगरी निःस्वार्थ रूपमा समर्पित व्यक्तिलाई बुझाउँछ।
- संघ: यसले संगठित सामूहिक शक्ति र आत्मीय एकतालाई जनाउँछ।
यो कुनै पनि राजनीतिक दल वा समुदायसँग आबद्ध छैन। यो हिन्दूधर्ममा आधारित नितान्त सांस्कृतिक र सामाजिक संस्था हो। यसले समाजमा सेवा, सामाजिक समरसता (सद्भाव), अनुशासन र सांस्कृतिक चेतनाजस्ता जीवनमूल्यहरू प्रवर्द्धन गर्ने कार्य मात्र गर्छ।
दैनिक शाखा संघको कार्यपद्धतिको मूल आधार हो। यो दैनिक एक घण्टा सञ्चालन हुने कार्यक्रम हो, जसमा शारीरिक, मानसिक र बौद्धिक विकासका लागि खेलकुद, व्यायाम (योग), प्रार्थना, गीत र बौद्धिक छलफलहरु समावेश हुन्छन्।
यसमा सबै जाति, क्षेत्र, भाषिक पृष्ठभूमिका मानिसहरुलाई स्वागत छ। संघले कुनै पनि प्रकारको भेदभाव बिना समानता, सामाजिक समरसता र पारस्परिक सम्मानको भावलाई प्रवर्द्धन गर्छ।
संघले कुनै पनि हाड-मासु भएको व्यक्तिलाई गुरु मान्दैन, किनकि व्यक्ति पूर्ण नहुन सक्छ। त्यसैले, त्याग, तपस्या, पवित्रता र ज्ञानको प्रतीक ‘भगवा ध्वज’ लाई गुरु मानिएको हो। यसले व्यक्तिपूजाको सट्टा तत्वपूजा वा सिद्धान्तप्रति समर्पणको सन्देश दिन्छ।
गुरु दक्षिणा स्वयंसेवकहरुले वर्षको एकपटक ‘भगवा ध्वज’ रूपी गुरुको समक्ष स्वेच्छिक रूपमा चढाउने आर्थिक समर्पण हो। यो केवल धनको दान होइन, बरु संस्थाप्रति आफ्नो दायित्व बोध, कृतज्ञता र अपनत्वको अभिव्यक्ति हो, जसले संस्थालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँछ।
संघका संस्कारहरु केवल शब्दमा सीमित छैनन्, यी व्यवहारमा उतारिने जीवनमूल्यहरु हुन्। यसमा समानता, आत्मीयता, अनुशासन, सरल जीवनशैली र निःस्वार्थ सेवाभाव पर्दछन्। संघको वातावरणमा भिजेपछि यी गुणहरु स्वयंसेवकको जीवनपद्धति बन्न पुग्छन्।
यसको दीर्घकालीन लक्ष्य व्यक्ति निर्माणमार्फत समाज र राष्ट्रलाई परम वैभवको अवस्थामा पुर्याउनु हो। सांस्कृतिक चेतना र सेवाकार्यमार्फत एउटा यस्तो समाज निर्माण गर्नु हो, जुन संगठित, शक्तिसम्पन्न र स्वाभिमानी होस्।
