शाखा— समाजकार्यका लागि समयदान

हिन्दू स्वयंसेवक संघको कार्यको उद्देश्य स्पष्ट छ— हिन्दुत्वको भावनाले भरिएको सम्पूर्ण समाजलाई सक्रिय रूपमा संगठित गर्नु । संघको अर्थ समाजमा संगठन होइन, समाजको संगठन हो । संघ–संस्थापक डाक्टर हेडगेवार भन्नु हुन्थ्यो— ‘आफ्नो समाजलाई बलशाली र संगठित बनाउनका लागि संघले जन्म लिएको छ । हामीले यस महान् कार्यप्रति अविचल निष्ठा राखौँ । यो हाम्रो जीवनको एकमेव कार्य हो । आफ्नो ध्येयलाई हामीले आफ्नो हृदयपटलमा अंकित गरौँ । हामीले समग्र हिन्दू समाजमा नवीय चैतन्य निर्माण गर्नु छ तथा निर्भय–वृत्ति उत्पन्न गर्नुछ । सामाजिक भावशक्ति निर्माण गरी समाजका प्रत्येक व्यक्तीको हृदयमा हामीले स्वाभिमान तथा आत्मविश्वास जागृत गर्नु छ ।’

उहाँले व्यक्त गर्नुभएको विश्वास थियो— ‘बढ्दा–बढ्दै एउटा यस्तो स्वर्णिम दिन अवश्य आउनेछ जुन दिन सारा हिन्दू समाज एक ढिका हुनेछ । त्यसपछि हिन्दू जातितिर वक्र दृष्टीले हेर्ने सामर्थ्य संसारको कुनै पनि शक्तिमा हुनेछैन । …सम्पूर्ण हिन्दू समाज संगठित होस् र आफ्ना सबल पयरमा उभियोस् यही एउटा ध्येयका लागि हामीले आफ्नो सारा जीवन लगाइदिने सङ्कल्प लिएका छौँ । यो काम सिङ्गो समाजको एकता, आपसी आत्मीयता र निःस्वार्थताका साथै समाजको हितमा काम गर्ने अनुशासित स्वयंसेवकहरूले साकार पार्नेछन् ।’ यही विश्वास लिएर संघ कार्यरत छ । यस भव्य लक्ष्यका लागि दृढ सङ्कल्प भएका कार्यकर्ताहरूको निर्माण आवश्यक हुन्छ । यो एक दिनमा हुने कार्य होइन । क्षणिक उत्साहले मात्र सफलता प्राप्त हुँदैन । यस्तो उत्साहले निरन्तरता पाउनुपर्छ । यसका लागि अनुशासन र नियमित संस्कार आवश्यक हुन्छ । अतः यसनिम्ति शाखा र त्यससित जोडिएको कार्यपद्धति विकसित गरिएको छ ।

हामीले समग्र हिन्दू समाजमा नवीय चैतन्य निर्माण गर्नु छ तथा निर्भय–वृत्ति उत्पन्न गर्नुछ । सामाजिक भावशक्ति निर्माण गरी समाजका प्रत्येक व्यक्तीको हृदयमा हामीले स्वाभिमान तथा आत्मविश्वास जागृत गर्नु छ ।

संस्कारहरूमाथि संघको अत्याधिक विश्वास छ । जस्तो संस्कार हुन्छ त्यस्तै मनुष्यको वृत्ति पनि बन्दछ । एकै प्रकारको वृत्ति भएका अनेकौँ मानिस एकत्रित हुनाले संगठनका लागि पोषक वातावरण निर्मित हुन्छ । समग्र हिन्दू समाजमा यस प्रकारको पवित्र, श्रद्धायुक्त, ध्येयनिष्ठाको रंगमा रंगिएको, निराशालाई नष्ट गर्नसक्ने, साहस बढाउने, स्फूर्तिदायक वातावरण तयार हुनसकोस् भनेर नै संघमा शाखा–कार्यलाई महत्त्व दिइएको छ । यस्तो वातावरणमा संस्कारित भएका स्वयंसेवकहरू जहाँ पनि जाऊन् त्यहाँ आफूसँगै यो संस्कारप्रद वातावरणलाई आफूसितै लिएर जाऊन्— यस्तो आग्रह रहेको हुन्छ ।

समयदानको परिपाटी

एक दिनको चौबीस घण्टामध्ये केही समय प्रत्येक व्यक्तिले समाजकार्य (संघकार्य) का लागि दिनुपर्छ, जसले गर्दा हिन्दू समाजको चौतर्फी उन्नतिको मार्ग प्रशस्त होस् ।

समाज, संस्कृति र राष्ट्रको सेवा हुनुपर्छ, यसले गौरव प्राप्त गर्नुपर्छ भन्ने मानसिकता छ भने यसका लागि हामीले तत्परतापूर्वक समय दिन सक्नुपर्छ ।

समाजको सज्जन शक्ति एकताको सूत्रमा आबद्ध हुँदै जाऊन् र समाजको उन्नतिका निम्ति सक्रिय होऊन्— यही अभीष्ट संघको शाखाको रहने गर्दछ । समाजमा हाम्रो जीवनका चार आयाम छन्– व्यक्ति, परिवार, कार्यस्थल र समाज । यी चारै आयामहरूलाई हामीले समय दिनुपर्ने हुन्छ । यस क्रममा एक दिनको चौबीस घण्टामध्ये केही समय प्रत्येक व्यक्तिले समाजकार्य (संघकार्य) का लागि दिनुपर्छ, जसले गर्दा हिन्दू समाजको चौतर्फी उन्नतिको मार्ग प्रशस्त होस् । यो कठिन कुरो होइन । यस्तो अवसर जोकोहीले पनि सजिलै प्राप्त गर्नसक्छौँ । अतः समाजकार्यका लागि समय दिने गरौँ— यस्तो आग्रह र अपेक्षा संघले गरेको छ । अन्यथा समाजको उन्नति हुनुपर्छ तर हामी मूक दर्शक मात्र बनेर त्यसको प्रतीक्षा गर्नेछौँ भन्ने मानसिकता रह्यो भने त्यो उन्नतिको बाटो कहिल्यै निर्मित हुनेछैन । समाज, संस्कृति र राष्ट्रको सेवा हुनुपर्छ, यसले गौरव प्राप्त गर्नुपर्छ भन्ने मानसिकता छ भने यसका लागि हामीले तत्परतापूर्वक समय दिन सक्नुपर्छ । यही चेतना संघले समाजमा भर्न चाहन्छ ।

समय दान कसैका लागि पनि कठिन कुरो होइन । अत्यन्त व्यस्त व्यक्तिले पनि यदि आफूमा श्रद्धा र भावना छ भने आफ्नो दिनचर्यालाई थोरै व्यवस्थित बनाउने हो भने थोरैमा पनि एक दिनको एक घण्टा समाजकार्यका लागि दिन सक्छ । एउटा श्रेष्ठ कार्यका लागि समय दिनु आफैमा महाव्रत हो । यो हाम्रो सानो प्रयास हो तर सबैको सत्प्रयासले ठूलो कार्य सम्पन्न हुनसक्छ भन्ने असङ्ख्य उदाहरण छन् ।

व्यक्तिगत स्वार्थमा मात्र अल्झिनेलाई हाम्रा शास्त्रले नरपशु भनी सम्बोधन गरेका छन् । आफ्नो उत्कर्षको अभिरुचि उत्पन्न भयो र देश–धर्म, समाज र संस्कृतिको उन्नतिमा पनि आफ्नै हित छ अतः आफू सहायक बन्नुपर्छ भन्ने भाव यदि कसैमा जागृत भयो भने त्यो व्यक्तिले ‘मानव जीवन’को सीमाभित्र प्रवेश गर्‍यो भन्ने बुझ्नुपर्छ । हामी आफू नरपशु बनेर बस्नु हुँदैन र आफ्ना स्वजनलाई पनि नरबाट नारायण बन्न प्रेरित गर्नुपर्छ । यसका लागि सर्वोत्कृष्ट र सर्वसुलभ साधन हो आफ्नो धर्म–संस्कृति र समाजको हितका लागि समय दिनु ।

हाम्रो जीवनको प्रत्येक क्षण समाजलाई संगठित र बलसम्पन्न बनाउने यस पवित्र कार्यका लागि कसरी उपयोगमा आउन सक्ला ?— हाम्रो मनमा रात–दिन केवल यसै कुराका विचार बनिरहोस् । र, यही विचारबाट प्रेरित हाम्रो आचरण पनि होस् । यसका लागि सबैभन्दा पहिलो खुड्किलो नै शाखा हो । कम्तिमा दिनको एक घण्टा समाजकार्यका लागि दिने प्रवृत्ति आफूमा निर्मित होस् भन्ने इच्छा छ भने ‘दैनिक शाखा’मा सहभागी हुनु यस दिशामा पाइला चाल्नु हो ।

शाखा आफूलाई संस्कारित गर्ने माध्यम हो । आफूलाई समाज–उपयोगी बनाउने सिद्धि यही साधनाबाट प्राप्त हुनेछ । र, यस सिद्धिको उद्देश्य हो— हिन्दू धर्म र हिन्दू संस्कृतिका लागि हामीले यो पवित्र कार्य गर्नुपर्छ भन्ने भाव जागरण । आफ्नो उज्वल संस्कृतिको रक्षा गरी यसको श्रीवृद्धि गर्नुपर्छ भन्ने चेतनाको जागृति । यति गर्नसक्यौँ भने मात्र आजको दुनियामा हाम्रो पवित्र हिन्दू समाज सगौरव उभिन सक्नेछ ।