गीत | हाम्रो धर्म हाम्रो संस्कृति


हाम्रो धर्म हाम्रो संस्कृति, रीति थिति लोक सम्मति ।
विश्वभरि लोभलाग्दो छ, हाम्रो देश हाम्रो प्रकृति ।।

हातमा हात राखेर, काँधमा काँध जोडेर ।
हिँड्नुपर्छ सँगसँगै, निजी स्वार्थ छोडेर ।।
लाखौँ युवा लाखौँ युवती, खट्नुपर्छ रातदिन अति ।
हौँ सिपाही आफ्नो देशका, सुम्पिदिऊँ सारा जिन्दगी ।१। हाम्रो…

देशको कुना–कुनामा, चेतनाको गीत गाऊँ ।
सबको ढुकढुकीमा, राष्ट्रभक्ति भाव जगाऊँ ।।
त्याग्नुपर्छ सबले दुर्मति, मिल्नुपर्छ सर्वसम्मति ।
बल्ल भन्छ हामीलाई विश्वले, वीरहरूका वीर सन्तति । २। हाम्रो…

हिमाल, पहाड, तराई, प्रकृतिको फूलबारी ।
विश्वसामु हाँस्दछ, हिउँचुलीको छहारी ।।
मेची, कोशी, काली, गण्डकी, महाकाली, सेती, राप्ती ।
लोभिएर हेर्छ विश्वले, हाम्रो दिव्य–दिव्य सम्पत्ति ।३। हाम्रो…