
परम पवित्र भगवा ध्वजमा रक्षासूत्र बाँध्नुको भाव पनि यही हो— ‘समग्र चराचरको हितलाई आफ्नो जीवनको आदर्श मानेर अघि बढेको यस लोकमंगलकारी धर्म–संस्कृति र यसको श्रेष्ठ परम्पराको रक्षाका लागि हामी संकल्पबद्ध छौँ ।’
रक्षाबन्धन
रक्षासूत्र : स्नेह र समरसताको सूत्र
रक्षाबन्धनको अर्को महत्त्वपूर्ण पक्ष हो—आपसी स्नेहको बन्धन । स्वयंसेवकहरू एक–अर्कालाई रक्षासूत्र बाँध्छन् । त्यो सानो, कोमल धागोले मानिसबीचका कृत्रिम भेदहरूलाई चुनौती दिँदै आत्मीयताको सम्बन्ध स्थापित गर्दछ ।
जाति, भाषा, सम्पत्ति, शिक्षा, सामाजिक प्रतिष्ठा वा अन्य कुनै आधारमा गरिने उँच–निचको विभाजन त्यहाँ अर्थहीन हुन्छ । रक्षासूत्रले मानौँ सम्झाउँछ—हामी फरक हुन सक्छौँ, तर परस्पर विभाजित होइनौँ; हामी विविध हुन सक्छौँ, तर अन्ततः एकै समाजका अभिन्न अंग हौँ ।
विविधता हाम्रो कमजोरी होइन, हाम्रो सौन्दर्य हो । भाषा, वेशभूषा, परम्परा, आस्था र जीवनशैलीका विविध रूपले समाजलाई समृद्ध बनाउँछन् । त्यसैले विविधताको सम्मान गर्दै त्यसको अन्तर्निहित एकता र सामरस्यलाई अझ सुदृढ बनाउनु आवश्यक छ ।
‘हामी एक हौँ’ भन्ने अनुभूति जति दृढ हुन्छ, समाजको एकता त्यति नै बलियो हुन्छ । यही एकताको सूत्रमा आबद्ध भएर समाज संगठित, सबल र सुरक्षित रहन सक्छ । त्यसैले रक्षाबन्धनका दिन एक–अर्कालाई रक्षासूत्र बाँध्दा स्वयंसेवकहरू केही क्षणमै आत्मीयताको सम्बन्धमा जोडिन्छन् । भेदभावका पर्खालहरू कमजोर हुन्छन्, कुरीतिका कलुषहरू हट्दै जान्छन् र परस्पर प्रेम, विश्वास तथा समर्पणको भावना जागृत हुन्छ ।
यसरी त्यो कोमल धागो केवल हातमा बाँधिने सूत्र रहँदैन; त्यो समाजजीवनलाई बाँध्ने आत्मीयता, एकता र दायित्वको प्रेरणासूत्र बन्न पुग्छ ।
समाजरक्षाको आधार : संगठन र समरसता
समाजलाई संगठित र शक्तिशाली बनाउने हो भने त्यसमा रहेका विभाजन र भेदभावलाई पन्छाउनैपर्छ । समाजका सबै वर्ग, सबै भाषा–भाषी, सबै समुदाय र विविध सांस्कृतिक परम्पराबीच आपसी सद्भाव र आत्मीयता आवश्यक छ । छुवाछुत, उँच–निच, अस्पृश्यता वा कुनै पनि प्रकारको सामाजिक विभेदका लागि स्वस्थ समाजमा स्थान हुनुहुँदैन ।
समाजको शक्ति त्यसको संख्यामा मात्र होइन, उसको एकता, संगठन, समरसता र साझा मूल्यबोधमा निहित हुन्छ । भगवान् श्रीरामको जीवनले पनि यही प्रेरणा दिन्छ । उहाँ जहाँ पुग्नुभयो, त्यहाँका विविध समुदाय र शक्तिलाई आत्मीयताका साथ संगठित गर्दै धर्मविरोधी, अराजक, विध्वंसकारी र अहितकारी शक्तिहरूको सामना गर्न समाजलाई एकताबद्ध गर्नुभयो । उहाँको विजय व्यक्तिगत सामथ्र्य मात्रको विजय थिएन; त्यो संगठित सद्भाव, धर्मनिष्ठा र सामूहिक शक्तिको विजय थियो ।
रक्षाबन्धनको उत्सवले पनि यही सन्देश दिन्छ—सम्पूर्ण समाजले सम्पूर्ण समाजको रक्षाका लागि व्रत लिनुपर्छ । प्रत्येक व्यक्तिले श्रेष्ठ जीवनमूल्य, सदाचार, संस्कार, संस्कृति र सामाजिक मर्यादाको संरक्षण गर्ने जिम्मेवारी स्वीकार गर्नुपर्छ । कारण स्पष्ट छ— सदाचारयुक्त, सशक्त, समरस र संस्कारसम्पन्न समाज नै कुनै पनि राष्ट्रको वास्तविक शक्तिको आधार हो । राष्ट्रको रक्षाका लागि सीमाको सुरक्षासँगै समाजको आन्तरिक एकता, सांस्कृतिक आत्मविश्वास, पारस्परिक विश्वास र मूल्यनिष्ठ जीवन पनि उत्तिकै आवश्यक हुन्छ । यही व्यापक सामाजिक चेतना र संगठनको निर्माणमा हिन्दू स्वयंसेवक संघ नेपाल निरन्तर प्रयत्नशील छ । रक्षाबन्धनको पर्व त्यस महाअभियानको एउटा महत्त्वपूर्ण चरण हो—जहाँ एउटा सानो रक्षासूत्रले व्यक्तिलाई व्यक्तिसँग, व्यक्तिलाई समाजसँग, समाजलाई संस्कृतिसँग र संस्कृतिलाई राष्ट्रको व्यापक चेतनासँग जोड्ने प्रेरणा दिन्छ ।
अन्ततः रक्षाबन्धनले हामीलाई यही स्मरण गराउँछ— रक्षा आफ्नो मात्र होइन; आफ्नो परिवारको, आफ्नो समाजको, आफ्नो संस्कृतिको, आफ्ना श्रेष्ठ जीवनमूल्यहरूको र अन्ततः समग्र राष्ट्रजीवनको गर्नुपर्छ । हातमा बाँधिएको रक्षासूत्र केही समयपछि फुक्लिएला, तर त्यसले जगाएको कर्तव्य, आत्मीयता, एकता र समर्पणको सूत्र जीवनभर कायम रहोस्—यही नै रक्षाबन्धनको वास्तविक सार हो ।
